अमेरिकासँग नेपाल ६ विकेटले पराजित - Mangsebung News
  • शुक्रबार, कार्तिक ०५, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकासँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा अमेरिकासँग नेपालले हार बेहोरेको छ ।

शुक्रबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा अमेरिकासँग नेपालले ६ विकेटले हार बेहोरेको हो ।

नेपालले दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाको जितमा स्टेभेन टेलरले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै ९२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए भने, सुसान्त मोदानी २ रनमा आउट हुँदा करिमा गोरे र संजय कृष्णामुर्थीले खाता नखोली पेभेलियन फर्काए ।

नेपालका लागि भने सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । उनी ३ सय ६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । उनले पूर्व कप्तान पारस खड्काले बनाएको ३ सय १५ रनको रेकर्ड तोडेका हुन् ।

यस्तै ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए भने, करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रन जोड्दा आउट भए ।

रोहित पौडेल र सोमपाल कामी २/२ रनमा आउट हुँदा कुशल मल्लले खाता खोल्न सकेनन् । यस्तै ओपनर आसिफ शेख पनि ३ रनमा आउट हुदां सन्दीप लामिछाने ११ रनमा आउट भए भने, सुशन भारीले अविजित २ रन जोडे ।

अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए । लिग–२ अन्तर्गतको जारी सिरिजमा अमेरिकाको यो पहिलो जित हो ।

अब नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले पनि सोमबार ओमानसँग खेल्नेछ ।

 

सम्बन्धित खवर