ईपीएल : आजबाट शुरु, काठमाडौंको विजयी सुरुवात - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ईपीएल : आजबाट शुरु, काठमाडौंको विजयी सुरुवात

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ ले विजयी सुरुवात गरेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो ।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

काठमाडौंको जितमा रायन बर्लले अविजित रहदै ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । उनी प्लेयर अफ दि म्याच समेत चुनिए ।

रहमानउल्लाह गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्का सहित ५९ रन बनाउदै अर्धशतकीय इनिङ्स खेले । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे भने, अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए ।

ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । यसैगरि भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।

यस्तै ओशाडा फर्नान्डो ४ रन, संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए भने ललित राजवंशी सुन्य रनमा अविजित रहे ।

काठमाडौंका लागि जितेन्द्र मुखियाले ४, रायन बर्ल र गुलशन झाले २÷२ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले भने विकेट लिन सकेनन् ।

यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने जनाएको छ ।

 

सम्बन्धित खवर