काठमाडौं । नेपाल एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा लेबनामसँग पारजित भएको छ ।
आइतबार नेपाल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।
लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै ४७ औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २–० को अग्रता दिलाए ।
खेलको ७४ औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को जित दिलाए ।
यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । नेपाल जित विहीन रहदै घर फर्किएको छ । समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन ।
नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।
इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।