माङसेबुङमा मंसिर दोस्रो सातादेखि आत्मानन्द कप संचालन हुने - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा मंसिर दोस्रो सातादेखि आत्मानन्द कप संचालन हुने

इलाम । धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा आत्मानन्द कपको १४ औं संस्करण खेल मंसिर दोस्रो सातादेखि सञ्चालन हुने भएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ सम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने मंगलबार इलाममा आयोजित पत्रकार सम्मेलनमा यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

प्रतियोगिताका विजेताले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

 

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुनेछ । जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

 

सम्बन्धित खवर