अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता हात परेको छ ।

नेपाली टिमलाई घरेलु टिम कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता हात परेको हो ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी–ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता प्राप्त गरेको हो ।

नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भयो । कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन् । केरी पोनसेटले १५ रन जोडिन् ।

नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले समान एक–एक विकेट लिए ।

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

रुबिनाले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । रुबिनाको यो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।

यस्तै, कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोडिन्। सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सुन्य रनमा आउट भईन् । अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सुन्य रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो । तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

सम्बन्धित खवर