अन्तराष्ट्रिय सिरिजमा कतारमाथि नेपालको क्लिन स्विप - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तराष्ट्रिय सिरिजमा कतारमाथि नेपालको क्लिन स्विप

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो बनाएको हो ।

नेपालले आफ्नो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो ।

यस अघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउन केवल ५५ रन जोड्न सक्यो ।

उसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १÷१ विकेट हात पारे ।

यस अघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले बनाएको हालसम्मकै उच्च योगफल हो । नेपालको लागि सिता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सिताले ७२ बलमा ७ चौका प्रहार गरिन् ।

सिताको यो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाईन् ।

काजल श्रेष्ठ १२ रनमा आउट भईन् । सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १÷१ विकेट लिईन् ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।

विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।

नेपाली टिम कतारबाटै शुक्रबार दुबई प्रस्थान गर्ने छन् । छनोटमा ६ टिम सहभागी छन् । जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ । नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा हुनेछ ।

नेपालले आफ्नो चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्नेछ ।

 

सम्बन्धित खवर