‘ए’ डिभिजन लिग : थ्री स्टारको सानदार सुरुआत, संकटा र हिमालयनको बराबरी - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ए’ डिभिजन लिग : थ्री स्टारको सानदार सुरुआत, संकटा र हिमालयनको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरको थ्री स्टार क्लबले सानदार विजयी सुरुआत गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार विजयी सुरुआत गरेको हो ।

‘सेट पिस’ मा बलियो देखिएको थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।

खेलको २२ औं मिनेटमा करिब ३० यार्डबाट निशानले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

यसैगरि खेलको २६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । ‘ए’ डिभिजन लिगमा विकासको यो डेब्यु खेल हो ।

यसैगरि ४४ औं मिनेटमा थ्री स्टारले २–० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोलको जाली चुमाए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । हेमन्त थापा मगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ ।

च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए ।

संकटा र हिमालयनको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे । रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने ।

तर खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । जीवन गुरुङको क्रसमा त्रिदेभले हेड मार्फत टप कर्नरमा उत्कृष्ट गोल गरे ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन र बराबरीबाट दुबै टोलीले नयाँ सिजनको सुरुआत गरेको छ । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।

लिग अन्तर्गत आइतबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

 

सम्बन्धित खवर