आत्मानन्द कपको तयारी अन्तिम चरणमा - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कपको तयारी अन्तिम चरणमा

माङ्सेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा मंसिर ११ गतेदेखि सञ्चालन हुने आत्मानन्द कपको १४ औं संस्करण खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आगामी मंसिर ११ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादव आउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमले जनाएको छ । प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

 

सम्बन्धित खवर