आत्मानन्द कप : माङसेबुङ अन्तिम चारमा प्रवेश - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : माङसेबुङ अन्तिम चारमा प्रवेश

माङ्सेबुङ । माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा आज शनिबार देखि शरु भएको आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा आज भएको उद्घाटन खेलमा गोधुली क्लव धरान सुनसरीलाई ३–१ ले पराजित गर्दै माङसेबुङ आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको १८ औं मिनेटमा नै माङसेबुङका प्रविण राईले पाहिलो गोल गर्दै माङसेबुङलाई अग्रता दिलाए । यसैगरि खेलको २० औं मिनेटमा पुनः राईले नै गोल गर्दै अग्रता दोब्बर बनाए ।

घरेलु मैदानको समर्थन पाएको माङसेबुङले खेलको २४ औं मिनेटमा निर्मल राईको गोलमा अग्रता तेब्बर बनाए । गोधुलीका तर्फबाट दोश्रो आफमा विवस सुनुवारले सान्वना गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच भने गोधुलीका सौजन राई घोषित भए ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता उद्घघाटन भने प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादव गरेका थिए ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनका देव समुपस्थितिमा सम्पन्न प्रतियोगिताको उद्घघाटन समारोहमा अङसीमाङबाट खेलाडीहरुलाई माङ अशिर्वचन समेत प्रदान भएको थियो ।

प्रतियोगिता अन्तरगत भोलि आईतबार हुने खेल बि.बि.एफ.सि. दमक झापा र रेड हर्ष इलाम विच अपरान्ह २ वजे हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

 

सम्बन्धित खवर