आत्मानन्द कप : पहिलो सेमिफाईनल खेलमा माङसेबुङ र फिदिम भिड्दै - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : पहिलो सेमिफाईनल खेलमा माङसेबुङ र फिदिम भिड्दै

माङ्सेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता अन्तरगत पहिलो सेमिफाईनल खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र फिदिम स्पोर्टिङ क्लव पान्थर विच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा आज (बुधबार) अपरान्ह २ बजे हुने प्रतियोगिताको पहिलो सेमिफाईनल खेल अन्तरगत माङसेबुङ र फिदिम विच प्रतिस्पर्धा हुने भएको हो ।

माङसेबुङ खेलकुद विकास समितिले गोधुली क्बल सुनसरीलई ३-१ को नतिजा निकाल्दै सेमिफाईनल प्रवेश गरेको थियो भने फिदिम स्पोर्टीङ क्लब पाँचथरले झापा ११लाई पाखा लगाउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

यसअघि मङगलबार भएको पहिलो चरणको चौथो तथा अन्तिम खेलमा माने भञ्ज्याङ फुटबल क्लव दार्जिलिङ, भारतलाई ४–१ ले पराजित गर्दै सिरिजङगा स्पोर्टिङ क्लव मोरङ प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

यस जित सँगै सिरिजङगा स्पोर्टिङ क्लव मोरङले दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिबिएफसी दमक झापासँग भेट पक्का गरेको छ । प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र सिरिजङगा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

 

सम्बन्धित खवर