सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको कार्यक्रम तालिका परिवर्तन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको कार्यक्रम तालिका परिवर्तन

माङसेबुङ / विश्व व्यापी रुपमा फैलिरहेको महामारी कोभिड १९ कोरोना भाइरसको कारण नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै पूर्व निर्धारित कार्यक्रममा तत्काल केहीँ परिवर्तन गरिएको सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह आयोजक समितिले जनाएको छ ।

पूर्व निर्धारित औपचारिक समारोहलाई स्थगन गरी स्वास्थ्य मापदण्ड अनुसार सामाजिक भौतिक दूरी कायम गर्दै, नित्य सेवा गरी यस पटकको खिबेक्वा याक्वा सेवा मनाउन लागिएको समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

यसरी महामारीका कारण आगामी माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको कार्यक्रमको रुपरेखामा परिवर्तन गरिएको हो । परिवर्तित कार्यक्रमको तालिका अनुसार नित्य सेवाहरु मात्र सञ्चालन हुने भएको छ ।

निर्धारित कार्यक्रम अनुसार आगामी माघ ३ गते हुने भनिएको साक्मुरा वादेम्मा बाहेक इलामको माङसेबुङ गाउँपालिका वडा नं। ५, भालुटारमा स्थापित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ प्रतिमा अनावरणको सम्पूर्ण कार्यक्रम स्थिगन गरिएको छ ।

४ गते विगतका वर्ष झै विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा सञ्चालन हुने छ । भने ५ गते सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहलाई औपचारिक उद्घाटन गरिने तर अन्य कार्यक्रमहरु स्थगन गरिएको समारोह आयोजक समितिले जनाएको छ । यसरीनै माघ ६ गते सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा गरिने र बाँकी नित्य सेवाहरु भने यथावत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देव आगमनमा सम्पन्न गरिने खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम माघ ७ गते समापन हुने समारोहका अध्यक्ष योङहाङले जानकारी दिएका छन् ।

यस वर्ष सुरु गरिएको सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाल, चामल, तेल, धागो, पानी, माङगेन्ना फूलहरु र माङगेन्ना भेटी भक्तजनहरु आफैंले व्यवस्थापन गर्नु पर्ने छ । माङगेन्ना सेवामा उपस्थित हुन नसकेका परिवारजनको हकमा येबो (मैनम) मार्फत पनि परिवार/प्रतिनिधिले माङगेन्ना गर्न, गराउन सकिने छ जनाइएको छ।

माघ १ गते कक्फेक्वा तङनामको अवसरमा फुलुङगी खत्रक्पामा आयोजना गरिएको समारोहको औपचारिक कार्यक्रमहरु स्थगन गरेर नित्य सेवा मात्र सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर