काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत नेपालले खेल्ने खेल तालिका सार्वजनिक गरिएको छ । नेपाल ग्रुप टु मा रहेको छ । ग्रुप टु मा नेपाल संगै ओमान, क्यानाडा र फिलिपिन्स रहेका छन् ।
ग्लोबल छनोट अन्तर्गत नेपाल र आयोजक ओमानबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने भएको छ ।
आईसीसीको खेलतालिका अनुसार ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतको ग्रुप टुमा रहेको नेपाल र ओमानबीचको खेल फेब्रअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फ्रेब्रुअरी १९ मा हुनेछ । त्यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।
ग्रुप वानमा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
छनोट अघि नेपालले ओमानमै आरल्यान्ड, युएई र घरेलु टोली ओमानविरुद्ध टी–ट्वान्टी सिरिज खेल्नेछ ।