झापा गोल्डकप पाँचौँ संस्करणको तयारी सुरु - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्डकप पाँचौँ संस्करणको तयारी सुरु

विर्तामोड । पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ ।

सोमबार बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ ।

कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे जनमानसमा अन्योल रहेकोप्रति बैठकले सुनिश्चित गरिदिएको छ । संक्रमण कम हुँदै गएकाले फागुन २१ गतेबाट नै गोल्डकप सञ्चालन हुने अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

‘हामीले तयारी सुरु गरिसकेका छौँ’, बस्नेतले भने, ‘भर्खरै आहा रारा गोल्डकप पनि दर्शकको उपस्थितिमै भएको र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि दर्शकसहित भइरहेकाले झापा गोल्डकप हुनेछ ।’

आयोजक झापा गोल्डकपले आफ्नो टिम झापा ११ फुटबल क्लबको प्रशिक्षण पनि केही दिनमै सुरु गर्ने महासचिव गजेन्द्र पौडेलले बताए ।

बैठकले कोषाध्यक्ष केदार गिरीको संयोजकत्वमा आर्थिक समिति बनाएको छ । समितिमा दिपेश ढकाल, प्रकाश शिवाकोटी, सजेश शिवाकोटी र सञ्जीव घिमिरे सदस्य रहेका छन् ।

यसैबीच, पाँचौँ संस्करणको झापा गोल्डकपमा थिम गीत र मस्कट तयार हुने भएको छ । गोल्डकपले पहिलोपटक थिम गीत र मस्कट बनाउन लागेको हो । झापाको प्रतिनिधित्व हुनेगरी गीत तयार भइरहेको र केही दिनमै सार्वजनिक हुने बताइएको छ । त्यस्तै, वरिष्ठ कलाकार पवन राजवंशीले झापा गोल्डकपको मस्कट तयार गर्दैछन् । जिल्लाको परिचय झल्किने र फुटबल प्रतिनिधित्व हुनेगरी मस्कट तयार हुनेछ ।

यसैबीच, झापा गोल्डकपको पदेन सदस्यको रुपमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष रहने निर्णय गर्दै अध्यक्ष प्रकाश शिवाकोटीलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ ।

सम्बन्धित खवर