मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराउदै नेपाली राष्ट्रिय फुटबल टिमले जित निकालेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराउदै जित निकालेको हो ।

नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले एकमात्र निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले निर्णायक गोल गरेका थिए ।

उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक फ्लिक पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरे ।

यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।

नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो ।

खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए ।

७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा विमल घर्तिमगरको गोलमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो ।

 

सम्बन्धित खवर