पबित्रहाङमा कप सुरु, सिरिजंगालाई पराजित गर्दै माङसेबुङ सेमीफाइनलमा प्रवेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप सुरु, सिरिजंगालाई पराजित गर्दै माङसेबुङ सेमीफाइनलमा प्रवेश

माङसेबुङ । पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिता सुरु भएको छ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो ।

सोमबार भएको समुह ‘ए’ अन्तर्गत पहिलो खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई ४–० ले पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम सेमी फाइनलमा प्रबेश गरेको छ ।

माङसेबुङको जितका लागि सुनिता तामाङले २ गोल गरिन । भने, सोनु राई र कविता राईले समान एक/एक गोल गरिन् । सिरिजंगाले भने खेल अवधिभर कुनै गोल गर्न सकेन । सिरिजंगाका खेलाडीलाई विपक्षीको पोलमा पुग्न समेत हम्मेहम्मे परेको थियो । विपक्षीको निरन्तर दवावमा परेको सिरिजंगाले रक्षात्मक खेलेका थिए ।

खेलको उत्कृष्ट खेलाडी विजेता माङसेबुङकी सन्ध्या रमतेल घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत मंगलबार ९भोली० पनि एक खेल सञ्चालन हुने भएको छ । ए.पि.एस.सी माङसेबुङ इलाम र डि.डब्लु.एफ.सि. धरान सुनसरी बीच हुने आयोजकले जनाएको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ए. पि. एफ. सी. माङसेबुङ इलाम, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, केराबारी गाउँपालिका खेलकुद समिति मोरङ, माङसेबुङ गाउँपालिका इलाम, जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम, डि. डब्लु.एफ.सि. धरान सुनसरी, पञ्चकन्या एफ.सी. उदयपुर, कन्काई नगरपालिका झापा, सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङको सहभागिता रहेको आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।

१२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न मौलिक खेलहरु पनि सञ्चालन हुनेछन् । मौलिक खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड, तान गुन्द्री बुन्ने, सियो धागो उन्ने, कराँते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं। ३ ९साविक बाँझो ७ (उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि। स। २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङसंग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

सम्बन्धित खवर