काठमाडौं । नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सानदार जित निकालेको छ ।
शनिबार ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन मात्र जोड्न सक्यो ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । यो सँगै नेपाल सेमिफाईनल नजिक पुगेको छ ।
नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए ।
कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो । यस अघि उनले ७७ रन बनाएका थिए । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।
यस्तै दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक १ सय ७१ रनको साझेदारी गरे ।
लोकेश बम ६ रनमा अविजित रहे ।यसैगरि कुशल मल्लले १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।
फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।