काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल छनोट हुन असफल भएको छ ।
मंगलबार ओमानको अल अमेरातमा भएको विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो । योसँगै नेपालको विश्वकप खेल्ने सपना सकियो ।
नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ ।
नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।
युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो ।
युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।