झापा गोल्ड कप : एपिएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : एपिएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

आन्छुमे नसान/सङसेमी माङयुङ

बिर्तामोड । नेपाल आईस पाचौं झापा गोल्ड कपमा सातदोबाटो युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको खेलमा विभागीय टोली एपिएफलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको हो ।

सातदोबाटोको जितमा सुशील राई र निरज चौधरीले गोल गरे । एफिएफका दिपेश धिमालले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफको ८२ औं मिनेटमा सुशिलले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोको लागि २–० को अग्रता बनाए ।

इन्जुरी समयमा एपिएफका दिपेशले गोल गर्दै खेल २–१ फर्काए पनि हार भने टार्न सकेनन् । खेलमा दुवै टिमले केही राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेनन् ।

खेलको १३ औं मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रस एपिएफका जापानी गोलरक्षक युया कुरियामाले बचाउ गरे ।

यसैगरि खेलको २१ औं मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।

खेलको ४६ औं मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । खेलको ७४ औं मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको म्यान अफ द म्याच सातदोबाटोका सुशील राई भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।

झापा गोल्ड कपमा भोली(मंगलबार) दोश्रो क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर