- आन्छुमे नसान(काकीराम लावती)
बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार सम्पन्न क्वाटरफाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)लाई ३–० गोल अन्तरे हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीकोे जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले गोल गरे । खेलको १० औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको ३५ औं मिनेटमा कप्तान जर्ज प्रिन्सले गोल गर्दै आर्मीले पहिलो हाफमा अग्रता दोव्वर बनायो । यस्तै खेलको ६८ औं मिनेटमा विकासले गोल गर्दै ३–० ले आर्मीलाई सानदार जित दिलाए ।
खेलको म्यान अफ दि म्याच आर्मीका विकास तामाङ घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि(बिहीबार) घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुनेछ । प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।
सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।