- आन्छुमे नसान
बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी झापा गोल्डकपमा चौथो पटक फाइनल प्रवेश गरेको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सातदोबाटो क्लबमाथि ४–१ को फराकिलो जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
आर्मीको जितमा सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोको लागि दिपकराजसिंह ठकुरील ेसान्त्वना गोल फर्काए ।
खेलको २७ औं मिनेटमा सुमनले आर्मीलाई सुरुवाती अग्रता दिलाए । सन्तोष तामाङको फ्रिकिक प्रहारलाई सुमनले सोझै जाली चुमाए ।
पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोले खेल बराबरीमा ल्यायो । सुशिल राईको क्रस पासलाई सदुपयोग गर्दै दिपकराजसिंह ठकुरीले खेल बराबरी गरे ।
यसैगरि खेलको ६० औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै २–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग ३–१ को फराकिलो गोल अन्तर बनाए ।
यस्तै खेलको ८४ औं मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरे ।
खेलको म्यान अफ दि म्याच सन्तोष तामाङ घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल घरेलु टोली झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ ।
आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।
यसअघि उसले ३ संस्करणमा उपाधि आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।
सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।