साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालको फराकिलो हार - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालको फराकिलो हार

काठमाडौं । नेपालले साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा फराकिलो हार व्यहोरेको छ ।

जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल व्यहोरेको थियो । खेलको १४ औं मिनेटमा सुजेश पोट्टेकाटले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाईन ।

१७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन । खेलको ३५ औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा भारतलाई ३–० को अग्रता दिलाएकी थिइन् ।

खेलको ६९ औं मिनेटमा अपुर्नाले गोल गरेपछि भारत ४–० ले अघि रह्यो । खेलको ८१ औं मिनेटमा पुर्णिमाले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाईन ।

खेलको ८९ औं मिनेटमा सुनिता मुन्डाले गोल गरेपछि भारत ६–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा नितुले गोल गर्दै भारतलाई ७–० को जित दिलाईन ।

जितसँगै भारतले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ । मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

सम्बन्धित खवर