- आन्छुमे नसान
दमक । ‘ए’ डिभिजन क्लव मनाङ मस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपमा सानदार जित निकाल्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार दमक–३, स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै मनाङ सेमिफाईनलमा प्रवेश गरेको हो ।
मनाङको जितमा अफिज ओलावलेले दुई गोल र रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । यता बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।
खेलको १४ औं मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको २७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।
दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्दै खेलको ५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई २–१ को अग्रता दिलाए । तर, खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पाएसँगै खेल बराबरीमा फर्कियो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे ।
त्यसपछि खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–२ को अग्रता दिलाए । र, खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गर्दै टिमलाई ४–२ ले जित दिलाए ।
शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए ।
भोलि(शनिबार)को दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल चैत १८ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।