- आन्छुमे नसान
दमक । झापाको दमकमा जारी दमक गोल्डकपमा गोर्खा ब्वाइज क्लब रुपन्देही सेमिफाईनलमा प्रवेश गरेको छ ।
शनिबार दमक–३, स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा दार्जिलिङ पुलिस क्लब भारतलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै गोर्खा ब्वाइज सेमिफाईनलमा प्रबेश गरेको हो ।
निर्धारित समयमा एक÷एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे ।
यता दार्जिलिङ पुलिस क्लबका भाइचाङ राई, दिवश तामाङ र निशाकर राईले गोल गरे भने आशिष देवान र नेवाश राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो ।
यसअघि खेलको आँठौं मनेटमा गोर्खा ब्वाइजका यानिकले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाए । तर, खेलको १३ औँ मिनेटमा गोर्खा ब्वाइजका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टी पाएको अवसरलाई सदुपयोग गर्दै भाइचाङ राईले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।
प्रतियोगितामा म्यान अफ द म्याच विजयी गोर्खा ब्वाइजका अवाडे भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरि आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने खेल संयोजक मोहन मगरले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल चैत १८ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।