- आन्छुमे नसान
दमक । झापाको दमकमा जारी दमक गोल्डकपमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सेमिफाईनलमा प्रवेश गरेको छ ।
आइतबार दमक–३, स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले सेमिफाईनलको स्थान सुरक्षित गरेको हो ।
मानेभञ्ज्याङको जितमा राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक/एक गोल गरे ।
खेलको २७ औँ मिनेटमा जेरी पुलामीले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए । यस्तै ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ६४ औँ मिनेटमा विमल कुमारले गोल गर्दै माने भञ्ज्याङको अग्रतालाई तेब्बर बनाए । त्यसपछि खेलको इन्ज्यरी समयमा राकेश सिंहले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौंथो गर्दै ४–० को जित निश्चित गर्यो । यता आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यवहोर्नुप¥यो ।
खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल चैत १८ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।