- आन्छुमे नसान
दमक । झापाको दमकमा जारी दमक गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।
मनाङको जितमा खेलको २९ औँ मिनेटमा अफिज ओलावलेले गरेको गोल नै निर्णायक भयो । खेलको म्यान अफ दि म्याच अफिज बिजेता टिम मनाङका ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।