काठमाडौं । नेपालले आज बुधबार राति एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समय अनुसार राति १ बजे नेपालले पहिलो खेलमा कुवेतको जाबिर अल अहमद स्टेडियममा जोर्डनको सामना गर्नेछ ।
बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन ।
नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाब रहित खेल्ने दाबी गर्छन् ।
अलमुताईरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए ।
किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए ।