काठमाडौं । नेपाल बलियो टोली जोर्डनसँग एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा पराजित भएको छ ।
बुधबार राति कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
नेपालले जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा नेपालले दुई गोल व्यहोर्यो ।
जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।
पहिलो हाफमा जोर्डनविरुद्ध नेपालका लागि डेब्यु गरेका गोलकिपर दीप कार्कीले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाए ।
नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।
तर, खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई सुरुआती अग्रता दिलाए । यसैगरि खेलको ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २–० को जित दिलाए ।
नेपालका डिफेन्डर सुमन अर्यालले मोहमद सुलेमानलाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो ।
नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । यस्तै जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ ।
छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष दूई टोलीले एसियन कप खेल्नेछ ।