माङसेबुङ । नेपाल अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ ।
शुक्रबार बिहान टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानसँग नेपाल १३ रनले पराजित भएको हो ।
ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।
नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।
त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन, ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा अविजित रहे ।
ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।
ओमानका लागि जिसन मक्सुदले अविजित रहदै १ सय ४ रनको शतकीय इनिङ खेल्दा खवर अलिले ३० रन, सोयब खानले २७ रन र सुरज कुमार १२ रनमा आउट भए ।
नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछानेले पछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बने ।
यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए ।
यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।