कुम्मायक गाउँपालिकामा नीति तथा कार्यक्रमको छलफल सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा नीति तथा कार्यक्रमको छलफल सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पान्थरको कुम्मायक गाउँपालिकामा १२औ गाउँ सभाको लागि नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धि घनिभुत रूपमा मंग्लवार छलफल भएको छ ।

यासोकको जनभवनमा भएको सो कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा भौतिक पुर्वाधार बिकास निर्माणका बिषयमा सर्वपक्षिय उपस्थितिले छलफल गरेको थियो ।

गुणस्तरीय शिक्षा साथै सहज स्वास्थ्य उपचार नागरिकको पहुँचमा पुर्याउने र कृषि पेशालाई आत्म निर्भर र ब्याबसायिक बनाउने जस्ता योजनाहरू बारे छलफल भएको थियो । सुख्खा क्षेत्र भएकोले पोखरी तथा प्लास्टिक टनेलको ब्यबस्था साथै सिजन अनुसार उत्पादन भएका फलफूललाई गाउपालिकामा नै प्रशोधन गरेर आयआर्जन बढाउनुपर्ने राय सुझावहरु पेश गरिएको थियो ।

गाउँपालिकामा रहेका बिधालयहरुमा रहेका शिक्षा सम्बन्धि बेथिति तथा कमिकम्जोरिलाई तुरुन्त हटाइनु पर्ने र मातृभाषा शिक्षा पद्धतिलाई प्राथमिकता दिनु पर्ने जस्ता सुझावहरु शिक्षक गणेश चेम्जोङ र प्रकाश बिसिले पेश गर्नु भएको थियो ।

पाँच बर्ष पछि यो पहिलोपटक गाउँपालिकाको नीति तथा कार्यक्रम योजना तर्जुमा सम्बन्धि सर्व पक्षिय बैठक बोलाएर सबै नागरिकको राय सल्लाह सुझाव समेटिएको भन्दै कार्यक्रमको प्रशंसा गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधि अम्मरसिं थापा, नेपाली काङ्ग्रेसका दुर्गा बम्जन, जनता समाजवादीका पार्टी प्रतिनिधि तारानाथ सम्बाहाम्फ,े नेकपा एमालेका मेघराज निरौला, गाउँपालिका अध्यक्ष बम प्रसाद लावती, प्रमुख प्रशासकीय अधिकृत बिनोद सुवेदी, उपाध्यक्ष महेन्द्र बहादुर खड्का लगायत वडाका वडा अध्यक्ष तथा सदस्यहरु, राप्रपाका पार्टी प्रतिनिधिहरुको उपस्थिति समेत रहेको थियो ।

यसैगरी बुधबार वडा नम्बर ४ को तिङ्देन वडा कार्यलयमा पनि वाड सभा भएको थियो । आर्थिक बर्ष ७९÷८० को वडामा आएको ५२ लाख ५० हजार बजेटलाई कुनकुन शीर्षकको योजनामा के कति खर्च गर्ने भन्ने बारे सर्व पक्षिय छलफल भएको थियो ।

सो रकम साबिकको वडा नम्बर ६ र ८ मा समाधी स्थल खरिद गर्नु पर्ने र शिक्षा स्वास्थ्य कृषि र मोटरबाटो स्तर उन्नति साथै खानेपानीमा खर्च गर्न सकिने छलफलमा बताइएको थियो ।

वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाज बुद्धिजीवी तथा वडाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर