अन्तिम एकदिवसीय सिरिजमा नेपाल क्यानडासँग पराजित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तिम एकदिवसीय सिरिजमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय सिरिजमा नेपाल पराजित भएको छ ।

बुधबार राति किङ सिटी स्टेडियममा भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो ।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे भने विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रनमा आउट भए ।

कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे । यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पेभेलियन फर्किए ।

क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोनसनले ४४ रन जोडे भने अमर खालीदले अविजित ३० रन बनाए । यस्तै उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीपले ३ विकेट लिए । दिपेन्द्रले २ तथा बसिर अहमेद, किशोर महतो, करण केसी र आदील आलमले १/१ विकेट लिए ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

 

सम्बन्धित खवर