काठमाडौं । अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले ट्रफी टुर आज (शुक्रबार)बाट सुरु भएको जनाएको छ । आइसीसीले प्रेस विज्ञप्तिमार्फत विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपाल ल्याइने जानकारी गराएको हो ।
आईसिसीले जनाए अनुसार विश्वकप ट्रफी भदौ १४ र १५ गते (अगस्ट ३० र ३१ ) मा काठमाडौंमा राखिनेछ । उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउने छन् ।
विश्वकपको १०० दिने ‘ट्रफी टुर’ शुक्रबारबाट सुरु भएको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिनेछ ।
विश्वकप अष्ट्रेलियाको ७ शहरमा आयोजना हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।