माङसेबुङ । महिला युरोकप २०२२ को उपाधि आयोजक इंग्ल्यान्डले जितेको छ ।
आइतबार राति वेम्बलीमा भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काईन् ।
रोमान्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाईन् । तर, खेलको ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काईन् ।
त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इंग्ल्यान्डकी केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाईन् ।
यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।