इलामका पत्रकार जबेगूलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामका पत्रकार जबेगूलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

पुरस्कृत तथा सम्मानित पत्रकार सटेन्द्र जवेगू

माङसेबुङ । इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २३ औं स्थापना दिवसको अवसरमा भोलि शुक्रबार फोनिज इलामले स्थापना गरेको पुरस्कारबाट जबेगू पुरस्कृत हुने भएका हुन् । उनलाई प्रदान गरिने पुरस्कार राशी १० हजार रहेको छ ।

गत सोमबार बसेको फोनिज इलामको बैठकले सो पुरस्कार जबेगूलाई दिने निर्णय गरेको फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।

फोनिज इलामले स्थापना गरेको पुरस्कार पहिलो पटक वितरण गर्न लागेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको अध्यक्ष योङहाङले बताए ।

योङहाङका अनुसार पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक÷लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख÷आलेख, वहस÷पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने गरिने बताए ।

विगत दुई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू फोनिज इलामका सल्लाहकार हुन् । स्थानीय इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगूले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र इलामका अध्यक्ष भएर काम गरिसकेका छन् ।

यसैगरि फोनिज इलामले फोनिजमा आवद्ध भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका पूर्व फोनिजकर्मीहरुलाई समेत सम्मान गर्ने भएको छ ।

इलामको सूर्योदयन नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित फोनिज इलामका पूर्व अध्यक्ष ख्याम भुजेल र सन्दकपुर गाउँपालिका ५ मा वडा सदस्यमा निर्वाचित फोनिजका पूर्व सदस्य कुमार गुरुङलाई सम्मान गर्ने भएको हो ।

निजामति सेवामा प्रवेश गरेका फोनिजका पूर्वसदस्यहरु सुमन लावती र अशोक लिम्बूलाई सम्मान गरिने अध्यक्ष योङहाङले बताए ।

सम्बन्धित खवर