२३ औं फोनिज स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२३ औं फोनिज स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

दमक । धनकुटामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३औं स्थापना दिवसको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

फोनिज प्रदेश नम्बर १ समितिले आयोजना गरेको सो कार्यक्रममा धनकुटा नगरपालिकाको सहयोगमा मनकामना मिडिया हाउसले प्रकाशन गरेको नगर समृद्धिका सारथी पुस्तक समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका अध्यक्ष चिन्तन तामाङ, फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान र आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबुहाङ, फोनिज संघीय समितिका सल्लाहकार सञ्जय सन्तोषी राईलगायतले पुस्तक विमोचन गरेका थिए ।

त्यस्तै सोही कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष आङबुहाङ, नेचा सल्यान गाउँपालिकाकी उपाध्यक्ष बिनु राई, सूर्योदय नगरपालिकाका कार्यपालिका सदस्य ख्याम भूजेल र प्रदेश नम्बर १ की फार्मेसी अधिकृत दिक्षिता तामाङलाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा धनकुटा नगर प्रमुख तामाङ, फोनिज उपाध्यक्ष देवान, आठराई त्रिवेणी गापा उपाध्यक्ष आङबुहाङ, फोनिज सल्लाहकार राई, पूर्व उपाध्यक्ष दिपिन राई, प्रदेश १ इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य देवेन्द्र खापुङ, प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, भूमि आयोज धनकुटाका अध्यक्ष बलबहादुर राई, फोनिज प्रदेश १ सल्लाहकार संयोजक विजय सन्तोषी राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र राईलगायतले फोनिज स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठबारे चर्चा गर्दै फोनिजले श्रेष्ठलाई तथ्यका आधारमा महासंघको संस्थापक अध्यक्ष हुन् भनी पुष्टि गरेको फोनिज सम्बद्ध वक्ताहरुको भनाई थियो । उनीहरुले प्रदेश नम्बर १ को नामाकरण पहिचानका आधारमा लिम्बुवान किरात वा किरात लिम्बुवान गर्नुपर्ने धारणा राखेका थिए ।

फोनिज प्रदेश नम्बर १ का अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रदिप चौधरीको स्वागत र महासचिव सुसन रुङमाहाङ र सचिव सन्देश सुब्बाको सञ्चालन रहेको थियो ।

सम्बन्धित खवर