भारतमाथि फिफाको प्रतिबन्ध, महिला साफ खेल्न नपाउने - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमाथि फिफाको प्रतिबन्ध, महिला साफ खेल्न नपाउने

दमक । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।

फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धमा परेसँगै साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नपाउने भएको छ । अब महिला साफमा ६ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

साफले यस अघि सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको थियो । यस्तै समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान रहेको थियो ।

फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ । फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप पनि सर्ने भएको छ ।

अब एआईएफएफको आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्ने फिफाले जनाएको छ ।

सम्बन्धित खवर