भदौ १४, काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले कव्जा गरेको छ ।
नेपालले मंगलबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै सिरिज ३–२ ले कव्जा गरेको हो ।
नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।
केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन, इरफान करिमले २८ रन, कोलिन्स ओबुयाले २३ रन बनाउँदा कप्तान शेम एन्गोचेले अविजित ३३ रन र नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिदां करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो टी–ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।
यस्तै रोहित पौडेलले ४७ रन, अर्जुन साउद २९ रन, दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । यस्तै आदिल आलमले ४ रन, पवन सरार्फले १ रन, विवेक यादबले २ रन बनाउँदा करण केसीले २ रनका साथ अविजित रहे ।
केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिदा लुकास ओलुओचले १ विकेट लिए ।
प्रतियोगितामा म्यान अफ द सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए भने म्यान अफ दि म्याच ज्ञानेन्द्र मल्ल घोषित भए ।
अब नेपालले घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल शुक्रबार खेल्नेछ । यस्तै दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।