एक खेल अगावै केन्याविरुद्धको एकदिवसीय सिरिज नेपाललाई - Mangsebung News
  • शुक्रबार, असोज २१, २०७९
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एक खेल अगावै केन्याविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

भदौ १८, दमक । नेपालले घरेलु टोली केन्याबिरुद्धको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई पराजित गरेको छ ।

नेपालले केन्यालाई १७ रनले हराएको हो । यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २–० ले जितेको हो ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाउन सक्यो ।

केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । गेरार्ड मुथुईले २० रन बनाए ।

नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए ।यसतै करण केसी, आदील अन्सारी र पवन सर्राफले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका प्रहार गर्दै ७८ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे ।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २÷२ विकेट लिए ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

सम्बन्धित खवर