- पदम सुखी सम्बाहाम्फे
भदौ २२, कुम्मायक । कुम्मायक गाउँपालिकामा रहेको तमोर पम्पिङ खानेपानी आयोजना उपभोक्ता समितिको कार्यलय भवनमा ताला लागेको बर्षौ भएको छ ।
उपभोक्ता समितिले निर्माण पूरा भएको आफ्नै भवनलाई प्रयोगमा नल्याई भाडाको घरबाट सेवाग्राहीलाई सेवा सुबिधा दिदैं आएको छ ।
मासिक २ हजारको दरले कोठा भाडा तिरेर खानेपानीको महसुल उठाउदै आएको झण्डै एक बर्ष भएको बताइएको छ ।
सुख्खा क्षेत्रका ३ हजार ४३ घरधुरीलाई लक्षित गरि २०७३ सालमा बृहत तमोर पम्पिङ खानेपानी योजना अघि बढाइएको थियो ।
उक्त योजना ५२ करोडको लागतमा निर्माणकार्य सम्पन्न गरि ठेकेदार कम्पनीले २०७७ सालमा योजनाको काम उपभोक्ता समितीलाई जिम्मा लगाइ सकेको छ । आयोजना संचालनको जिम्मा पाएको उपभोक्ता समितिले आफ्नो भवनमा ताला लगाएर भाडाको कोठा बाट सेवा प्रवाह गरेको सेवाग्राहीको भनाइ छ ।
उक्त भवन निर्माण गर्न स्थानीय जग्गादाता डिकबहादुर पौडेलले १० लाख मुल्य बराबरको २ रोपनी जग्गा निशुल्क दान गरेका थिए । खानेपानी कार्यलयमा चहलपहल बढ्नुको साथै आसपासमा रहेका जग्गा जमिनको मूल्याकंन बढ्ने आशा पौडेलले लिएका थिए ।
तर उपभोक्ता समितिले बजारमै भाडा तिरेर सेवा प्रवाह गर्न थालेपछि उनी निराश भएको बताए । अब कहिले देखि खानेपानीको निजि भवन बाट सेवा प्रवाह हुन्छ भन्ने प्रश्नमा समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाले अहिले सडकको संरचना र सहज पहुँच भइसकेकाले चाडैं समितिको बैठक बसि निर्माणकार्य सम्पन्न भएको भवन बाट सेवा प्रवाह गर्ने बताएका छ्न ।