महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

असोज ३, दमक । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

आज सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेशको फाइनल भिडन्त हुने भएको हो ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो ।

महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ ।

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ ।

अघिल्ला संस्करणमा सधै फाइनलमा स्तब्ध हुँदै आएको नेपाल घरेलु मैदानमा भने उपाधि जित्न चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताईसकेका छन् ।

हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ । महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।

इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ ।

सम्बन्धित खवर