बंगलादेशमाथि नेपालको सानदार जित - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशमाथि नेपालको सानदार जित

असोज ११, नेपाल । दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई मैत्रीपूर्ण खेलमा पराजित गर्दै नेपालले सानदार जित निकालेको छ ।

मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराउदैं सानदार जित निकालेकोे हो ।

नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरे । यस्तै अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।

नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुवाती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।

२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । यस्तै ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।

यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् ।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३–१ ले विजयी भयो ।

सम्बन्धित खवर