असोज ३०, माङसेबुङ । आज आइतबारबाट अष्ट्रेलियामा आठौं संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट सुरु भएको छ ।
पहिलो राउण्ड अन्तर्गत भिक्टोरियामा समूह ‘ए’ का दुई खेलहरु सम्पन्न भएका छन् । उद्घाटन खेलमा नामिबिया र श्रीलंका प्रतिस्पर्धा गरेका थिए । जसमा पूर्व च्याम्पियन श्रीलंकालाई ५५ रनले हराउँदै नामिबियाले सुखद विजयी सुरुवात गरेको छ ।
नामिबियाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कप्तान डासुन शनकाले २९ तथा भानुका राजापाक्षेले २० रन बनाए ।
यसैगरि धनन्जया डा शिल्भाले १२ तथा महेश तिक्षणाले अविजित ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नामिबियाको जितमा ब्रिनाड स्कोल्ज, बेन शाइकोन्गो, जान फ्रायकलिंक, डेबिड बिजेले समान २/२ तथा जेजे स्मिथले १ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
नामिबियाका लागि जान फ्रायालिंकले ४४ रन जोड्दा जेजे स्मिटले अविजित ३१ रन, स्टेफन ब्राडले २६ तथा कप्तान ग्रहार्ड इरामुस तथा जान निकोलसले समान २०/२० रन बनाए ।
श्रीलंकाका लागि प्रमोद मधुशंकाले २ तथा चमिका करुणारत्ने, दुश्मन्था चमिरा, वानिन्दु हशरंगा र महेश तिक्षणाले समान १/१ विकेट लिए ।
जितसँगै नामिबिया समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
यसैगरि आइतबार भएको दोस्रो खेलमा युएईलाई ३ विकेटले हराउँदै नेदरल्याण्ड्सले सुखद विजयी सुरुवात गरेको छ ।
यूएईले दिएको १ सय १२ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले २३ रन, कोलिक याक्रिकमानले १७ रन, कप्तान स्कट एडवार्डले १६ तथा टिम प्रेग्निलले १५ र बास डि लिडले १४ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकिले ३ तथा जाहोर खान, कार्तिक मैयप्न, वासिल हमिद र आयान खानले समान १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले ४१ रन, भृत्य अरविन्दले १८ रन, कासिफ दाउदले १५ रन जोड्दा चिराग सुरीले १२ रन बनाए । आयान खानले ५ तथा वासिल हमिदले ४ रन जोडे ।
नेदरल्याण्ड्सका लागि बास डि लिडिले ३ तथा फ्राड केलसनले २ विकेट लिए । जितसँगै नेदरल्याण्ड्स समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ ।
यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।
पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।
दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।
दुई समूहका शीर्ष २/२ टोली सेमिफाईनलमा पुग्ने छन् । सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ‘ए’ को बिजेता र पहिलो राउण्ड समूह ‘बी’ को उपबिजेता रहनेछन् ।
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह ‘बी’ को बिजेता र पहिलो राउण्ड समूह ‘ए’ को उपबिजेता रहने छन् ।
यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।