युकेमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइँदै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

असोज ३१, युके । किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३८ औं जन्मजयन्ती आगामी नोेबेम्बर १२ तारिखका दिन युकेमा भव्य रुपमा मनाउने भएको छ ।

विगतका वर्ष झै महागुरु फाल्गुनन्दको जन्मजयन्ती यस वर्ष पनि युकेमा भव्यताका साथ मनाउने तयारी गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले जनाएको छ ।

किरात धर्मावलम्बीहरु युकेको विभिन्न ठाउँमा बसोबास रहेकोले महागुरु जन्मजन्ती प्रत्येक बर्ष बिभिन्न ठाउँमा मनाउँदै आएको र यस वर्ष १३८ औ महागुरु फाल्गुनन्द जन्मजयन्ती युकेको आसर्फोड केन्टमा भब्य रुपमा मनाउन तयारी भइरहेको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति उपाध्यक्ष तथा कार्यक्रम व्यवस्थापन संयोजक राजेन्द्र खिम्दिङले बताएका छन् ।

किरात धर्म दर्शनदाता, महान समाज सुधारक, विश्व शान्ति मानव एकताका सूत्रधार, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले किरात समाजमा दिनु भएको योगदान र विश्व शान्तिका लागि गर्नु भएको महान कार्यलाई प्राथमिकतामा राखेर हरेक वर्ष वहाँको जन्मजयन्ती कायक्रम आयोजना गर्दै आएको संयोजक खिम्दीङले बताए ।

राजदुतको प्रमुख अतिथ्यमा सम्पन्न हुने जन्मजयन्ती कार्यक्रममा विशेष अतिथि आसफोर्ड केन्टका मेयरलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । यसरी नै सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रण गरि सकिएको संयोजक खिम्दीङले बताए ।

युकेबासी किरात धर्मावलम्बीहरुको भव्य उपस्थितिमा विगत केही वर्ष यता वर्षेनी महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउँदै आएको हो । धार्मिक कार्यक्रम भएको हुँदा विशेष गरी किरात साम्जिक मन्धुम अनुसार माङसेवासाबाद्वारा मुन्धुम वाचन गरेर विश्व शान्ति मानव एकता साथै पञ्चतत्व शान्तिका निम्ति सेवा हुने गरेको छ ।

यस वर्ष पनि महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्तीलाई सम्पन्न गर्न व्यापक तयारी गरिएको आयोजकले जनाएको छ । युके भरिका किरात धर्मावलम्बीहरुको उपस्थितिमा विहान ८ देखि माङसेवासाबाद्वारा साम्जिक मुन्धुम वाचन गरी सेवा सम्पन्न गरिने छ । भने, दिनको १२ बजेदेखि औपचारिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

औपचारिक कार्यक्रममा अतिथिहरुबाट शुभकामना मन्तव्य साथै उच्च शिक्षा हासिल गरेका किरात धर्मावलम्बी विद्यार्थीहरु र कलाकारहरलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । त्यसैगरी माङसेवासाबा, कलाकार साथै भक्तजनहरुको साथमा आफ्ना मौलिक भेषभूषा, माङलाङ, केलाङ साथै सेवासाम्लो, याक्थुङ साम्लोको बिजोड प्रस्तुति सहित कार्यक्रम सम्पन्न गरिने युकेबासी ज्ञानु फुरुम्बोको भनाई छ ।

नेपालमा महागुरुको जन्मदिन हरेक वर्ष कार्तिक २५ गते जन्मजयन्ती मनाइँदै आएको छ । यस वर्ष केन्द्रीय कार्यक्रमको रुपमा ताप्लेजुङको फुङलिङ बजारमा कार्यक्रम आयोजना गरिएको छ ।

ताप्लेजुङमा आयोजित कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको समुपस्थितीमा महागुरु फाल्गुनन्दको शालिक अनावरण र माङहिम अवलोकन हुने जनाइएको छ ।

 

सम्बन्धित खवर