कातिक १०, माङसेबुङ । भारतले अष्ट्रेलियामा जारि आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार सिड्नीमा भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनायो ।
नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन, म्याक्स ओवेड, बास डी लि र शरिज अहमदले समान १६ रन जोडे ।
भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २÷२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेले । यस्तै कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेल्दा सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले ।
नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए ।
यस जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा रहेको छ ।