कातिक १०, माङसेबुङ । अष्ट्रेलियामा जारि आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो हार ब्योहोरेको छ ।
पर्थमा बिहीबार भएको खेलमा जिम्बावेसँग १ रनले पराजित भएसँगै पाकिस्तानले लगातार दोस्रो हार ब्योहोरेको हो ।
जिम्बावेले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ४४ रन बनाए । यस्तै मोहमद नवाजले २२ रन, शादब खानले १७ रन, मोहमद रिजवान १४ र मोहमद वासिमले १२ रन बनाए ।
जिम्बावेका सिकन्दर राजाले ३ तथा ब्राड इभान्सले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
जिम्बावेका लागि सिन विलियम्सले ३१ तथा क्रेग इर्भिन्सले १९ रन, ब्राड इभान्सले १९ रन र वेस्ले माधिभिरेले १७ रन जोडे ।
पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए ।
जितसँगै जिम्बावेले २ खेलमा ३ अंक जोड्दै समूह १ को तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पाँचौं स्थानमा रहेको छ ।