‘धर्मले थुप्रै कर्म दिन्छ तर कर्म गर्न जान्नु पर्छ’ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘धर्मले थुप्रै कर्म दिन्छ तर कर्म गर्न जान्नु पर्छ’ : अङसीमाङ आत्मानन्द सेइङ

कातिक २६, माङसेबुङ । पञ्च तत्वको गति विग्रिन्दै गएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

‘पृथ्वी पञ्ततत्वले सृष्टि भएको छ, पञ्च तत्वको गतिलाई सुधार गर्न माङसेवा गर्नु पर्छ’ अङसीमाङले भन्नु भयो, ‘पञ्च तत्वको गति विग्रेपछि संसारमा अनेकौं किसिमको रोग व्याधि, युद्ध, अशान्ति फैलिन्छ ।’                    

किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द १३८औं जन्मजयन्ती समापन तथा जलपान कार्यक्रमको अवसरमा गुरु निजी आश्रममा शनिवार आयोजित कार्यक्रममा आशीर्वचन दिनुहुँदै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले सो कुरा बताउनु भएको हो ।

केही मौसम प्रतिकूल रहेपनि मुक्कुमलुङले राम्रो दर्शन दिएको भन्नु हुँदै वहाँले थप्नु भयो, ‘विश्व शान्ति र शक्तिको लागि मुक्कुमलुङ माङसँग सेवा गरेको छु, आशीर्वाद मागेको छु ।’                                                           

पछिल्लो समयमा किरात धर्मावलम्बीको संख्या अत्याधिक बढ्दोक्रममा रहेको सुनाउनु हुँदै यसमा किरात धार्मिक संघ संस्थाले विशेष ध्यान दिन आवश्यक रहेको कुरा प्रष्ट पार्नु भएको थियो ।

‘धर्मले थुप्रै कर्म दिन्छ तर कर्म गर्न जान्नु पर्छ’ भन्नु हुँदै अङसीमाङले हाम्रो समुदायले कर्म गर्न, आशीर्वाद माग्न नजानेको कुरा सुनाउनु भयो । वहाँले भन्नु भयो, ‘आशीर्वाद माग्दा युगयुगान्तरको लागि माङवा हाङवा माग्नुपर्छ ।’ आशीर्वचनकै क्रममा अहंकार, क्रोध र घमण्डले नास भइन्ने भन्नु हुँदै ज्ञान, विवेक र चेतना नभएपछि अरुको दमन, शोषणमा परिने समेत प्रष्ट पार्नु भयो ।                                 

महागुरु फाल्गुनन्द १३८औं जन्मजयन्तीको अवसरमा हिजो साँझ (शुक्रबार) किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङबाट गुरु निजी आश्रममा माङ आशीर्वचन प्रदान हुने भएको छ ।

महागुरु फाल्गुनन्द लिङ्देन १३८औं जन्मजयन्तीको अवसरमा ताप्लेजुङको केन्द्रीय समारोह कार्यक्रम समापन पश्चात मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको गुरु निजी आश्रममा फिर्तीसवार पश्चात हुने भनिएको कार्यक्रम समय अभावको कारण शनिवार मात्र आयोजना गरिएको गुरु निजी आश्रम कृषि समिति सचीव उदयविक्रम तुम्बापोले बताए ।                                       

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको समुपस्थितीमा सम्पन्न कार्यक्रमा १३८ वटा तामाको गाग्री र महागुरु फाल्गुनन्दको सम्झना र सम्मानमा १ हजार ८ दीप प्रज्वलन, विश्व शान्ति तथा मानव एकताको लागि महाबत्ती बालिएको थियो ।

कार्यक्रममा तुम्याहाङहरु साङदाङगेन वरुमसाबा जोगदिल साम्सुहाङ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ वडा नं. ५ का वडाध्यक्ष नरेन्द्र राई लगायत विभिन्न संघ संस्थाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर