कतार विश्वकप : अर्जेन्टिना साउदीसँग पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कतार विश्वकप : अर्जेन्टिना साउदीसँग पराजित

मंसिर ६, माङसेबुङ । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुवात गरेको हो ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

पेनाल्टी गोलसँगै मेस्सी चार फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने ।

सलेह अल शेहरीले खेलको ४९ औं मिनेटमा गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि सलिम अल्दावसरीले खेलको ५३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ ।

यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो ।

सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।

 

सम्बन्धित खवर