आत्मानन्द कप : छथर तेह्रथुम सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : छथर तेह्रथुम सेमिफाइनलमा प्रवेश

मंसिर १२, माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज सोमबार भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, भारतलाई ६–२ को भारि गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

छथरको जितका लागि मिलन राईले ह्याट्रिक गरेका थिए । यस्तै दोर्जे तामाङले २ गोल र मौसम सुब्बाले १ गोल गरे । उता दार्जीलिङका लागि अभिषेक गुरुङले २ गोल गरेका थिए ।

छथरका मिलन राई खेलको म्यान अफ दि म्याच घोषित भए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि मंगलबार हाटखोला फुटबल क्लव, सुनसरी र तिजोग युवा क्लब, पाँचथरबिच पहिलो सेमिफाईनल खेल हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलामा सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर