आत्मानन्द कप : छथर तेह्रथुम फाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : छथर तेह्रथुम फाइनलमा प्रवेश

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर १४, माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले फाइनलमा स्थान पक्का बनाएको हो ।

जितसँगै छथर तेह्रथुमले उपाधिकालागि फाइनलमा तिजोक पाँचथरसँग भेट पक्का गरेको छ ।

तेह्रथुमको जितमा मिलन लिम्बूले २ गोल गरे । यस्तै प्रबेश बस्नेतले १ गोल गरे ।

खेलको तेस्रो मिनेटमानै प्रबेशको गोलमा छथर, तेह्रथुमले अग्रता लिए । त्यसपछि मध्यन्तर अघिनै खेलको २२ औं मिनेटमा मिलनले गोल गर्दै २–० को अग्रता दिलाए । यस्तै खेलको दोस्रो हाफमा २३ औं मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै तेह्रथुमलाई ३–० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच छथर तेह्रथुमका प्रबेश बस्नेत घोषित भए ।

कर्ण लिम्बूको कप्तानीमा मैदानमा उत्रेको झापाली टिमले थुप्रै गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल गर्न नसक्दा नतिजा तेह्रथुमलाई सुम्पिन्नु परेको थियो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कपको उपाधिका लागि शनिबार तिजोग फुटबल क्लव, पाँचथर र छथर गाउँपालिका, तेह्रथुमबिच हुनेछ ।

फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

 

सम्बन्धित खवर