मंसिर १५, माङसेबुङ । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति ९७४ स्टेडियममा पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना राउण्ड अफ १६ मा पुगेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपरले बचाए ।
तर, खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।
यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।