पवित्रहाङमा कपको तयारी सुरु, माघ २३ देखि सञ्चालन हुने - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कपको तयारी सुरु, माघ २३ देखि सञ्चालन हुने

पुस २३, माङसेबुङ । पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सवको अवसरमा सञ्चालन हुने १३ औं संस्करण प्रतियोगिताको तयारी आज इलाममा पत्रकार सम्मेलन गरी सुरु गरिएको हो ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङसहित र छिमेकी मुलुक दार्जिलिङको महिला टिमको सहभागिता रहने खेलकुद प्रतियोगिताको संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको भनाई छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको आयोजना र आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने प्रतियोगितामा यस वर्ष इलामको माङ्सेबुङ गाउँपालिका, जनता सेभेन, झापाको रोयल स्पोर्टिङ क्लब दमक, र कन्काई नगर खेलकुद प्रतिष्ठान, सुनसरीको माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब धरान, ताप्लेजुङको कर्णसिंह सोनाम एफसी, धनकुटा जिल्ला फुटबल संघ, मोरङको नवदिप युवा क्लब मिक्लाजुङ र पाहुना टोली भारतको एमएफसी दार्जिलिङको सहभागिता रहेनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

सम्बन्धित खवर